नविन अर्याल
१ मंसिर, काठमाडौं । धुम्बाराहीका शक्ति महर्जनले दुबईबाट घर फर्किंदा इन्डक्सन चुल्हो बोकेर आए । नेपालमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि परिवारको आग्रहमा उनले इन्डक्सन चुल्हो ल्याएका हुन् ।
ग्यासको अभाव खेपिरहेको महर्जन परिवारमा इन्डक्सन चुल्हो आएपछि खुशी छाएको छ ।
महर्जन एकजना उदाहरण मात्र हुन् । उनीजस्तै विदेशबाट आउने अधिकांशले इन्डक्सन चुल्हो र त्यसमा पकाउने भाँडाहरु बोकेर आउन थालेका छन् ।
पछिल्लो समय विदेशबाट आउने धेरैजसो यात्रुहरुले इन्डक्सन चुल्हो ल्याउन थालेको एयरलाइन्स सञ्चालकहरु बताउँछन् । बजारमा ग्यास पाउन छाडेपछि सर्वसाधारणले विकल्पका रुपमा इन्डक्सन चुल्हो, हिटर र राइस कुकर प्रयोगमा ल्याइरहेका छन् ।
ग्यासको अभावसँगै नेपालमा इन्डक्सन चुल्होको माग हृवात्तै बढेपछि बजारमा अभाव देखिएको छ । यही अभावको मौका छोपेर व्यवसायीले चुल्होको मूल्य अत्याधिक बढाएपछि विदेशबाट मगाउन थालिएको हो ।
विदेशबाट घर आउँदा परिवारलाई सबैभन्दा महत्वपूर्ण उपहार इन्डक्सन चुल्हो बनेको छ । यसअघि लुगा कपडा तथा ग्याजेटहरु महत्वमा पर्ने गर्थे । अहिले विदेशबाट आउने आफन्तसँग इन्डक्सन चुल्होको अपेक्षा गर्न थालिएको छ ।
अहिले विदेशबाट आउने करिव ८० प्रतिशत नेपाली यात्रुले इन्डक्सन चुल्हो ल्याउन थालेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव केशव उप्रेतीले बताए । विमानस्थलको ‘अराइभल’ कक्षमा इन्डक्सन चुल्हो समातेर आउने यात्रु बाक्लै देख्न पाइन्छ ।
सरकारले घरायसी प्रयोजनका लागि एउटा चुल्हो ल्याउन भन्सार छुट दिएको उनको भनाई छ । ६ महिनाभन्दा बढी समयपछि फर्किएको नेपालीले झिटी गुन्टाका रुपमा २/३ वटासम्म इन्डक्सन चुल्हो भन्सार छुटमा ल्याउने गरेका छन् । धुमवाराहीका महर्जनले दुबईबाट आउँदा २ वटा इन्डक्सन चुल्हो ल्याएर आएका थिए । उनले दुबै चुल्होको भन्सार बुझाउन नपरेको बताए ।
विदेशबाट आउनेहरुलाई घरकाले मात्र नभई आफन्तले समेत इन्डक्सन चुल्हो ल्याइदिन आग्रह गर्ने गरेको महर्जन उपसचिव उप्रेतीले बताए । यही कारण धेरै इन्डक्सन चुल्हो ल्याएर भन्सार बुझाउने यात्रु पनि बढी नै हुने गरेको उनको भनाइ छ । उनका अनुसार बढी चुल्हो ल्याउनेले भन्सार बुझाउनुपर्छ ।
अहिले भारत, थाइल्यान्ड, दुबई, हङकङ, कोरिया, मलेसिया लगायतका मुलुकबाट आउने यात्रुहरुके साथमा इन्डक्सन चुल्हो देखिने गरेको विमानस्थल कार्यालयले बतायो ।
‘त्रिभुवन विमानस्थलको ‘अराइभल’ कक्षमा इन्डकसन चुल्हो बोकेर आउनेहरु बाक्लै देखिन्छन्’ इन्डिगो एयरका धर्मेन शर्माले भने- ‘अहिले विदेशबाट घरमा आउँदा इन्डक्सन चुल्हो ल्याउने आदत नै बसिसकेको छ ।’
सीमाना पनि चुल्हो खरिदको लहर
जहाजबाट मात्र होइन, भारतबाट सडकमार्ग हुँदै आउने सर्वसाधारणले पनि इन्डक्सन चुल्हो, राइस कुकर र हिटर ल्याइरहेका छन् । नेपालसँग सीमा जोडिएका भारतीय शहरहरुमा यस्ता सामानहरु खरिद गर्ने नेपालीहरुको भिड देखिन्छ ।
अहिले भारतीय शहरमा पनि इन्डकसन चुल्हो, राइस कुकर, हिटरको अभाव देखिन थालेको बताइन्छ । भारतीय नाकाबन्दीका कारण लामो सयमदेखि आयात ठप्प हुँदा नेपालमा यस्ता अत्यावश्यक सामाग्रीको चर्को अभाव भएपछि नेपालीहरु बोर्डर क्षेत्रमा झुम्मिन थालेका हुन् ।
यही मौका पारेर कालोबजारी गर्नेहरुको पनि ठूलै ताँती छ । जसले गर्दा नेपालसहित भारतीय सीमा क्षेत्रमा समेत इन्डक्सन चुल्हो, हिटर, राइस कुकरलगायतको अभाव देखिएको हो ।
भारतीय बजारमा ३ हजारदेखि १० हजार रुपैयाँसम्म इन्डक्सन चुल्हो पाइन्छ । इन्डक्सन चुल्होको साथमा पकाउने भाँडासमेत किन्नुपरेमा थप रकम बुझाउनुपर्छ । यहाँ त्यही चुल्हो खरिद गर्नुपरेमा दोब्बर भन्दा बढी रकम तिर्नुपर्ने हुन्छ । त्यही भएर पनि विदेशबाट इन्डक्सन चुल्हो ल्याउन बाध्यता परेको हो ।
ग्यासको अभाव भएपछि नेपालमा धेरै घर परिवारले इन्डक्सन चुल्हो प्रयोगमा ल्याइसकेका छन् । ग्याँसको विकल्प इन्डक्सन चुल्हो बन्न थालेको छ ।
भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण उद्योग धन्दा तथा विकास निर्माणका काम ठप्प भएपछि लोडसेडिङ अघिल्लो वर्षको तुलनामा बढेको छैन । यसले इन्डक्सन चुल्हो प्रयोकर्तालाई राहत समेत मिलेको छ ।
इन्टक्सन चुल्हो एक प्रकारको हिटरजडित चुल्हो हो । यो हलुका, बोक्न सजिलो र छिटै खाना पकाउन सकिनेखालको हुन्छ । तर यसका लागि स्टिल वा भिन्नै प्रकारको भाँडा चाहिन्छ । परम्परागत भाँडाहरुमा यो चुल्हो काम नलाग्न सक्छ ।
तर, थोरै बिजुलीमा चाँडो खाना पकाउन सकिने भएकाले यस्तो इलेक्टि्रक चुल्हो एलपी ग्यासको विकल्प बन्न सक्छ । ग्यासमा जस्तो बारम्बार पैसा खर्च गरिरहनु नपर्ने भएकाले यसको प्रयोग आर्थिक रुपले पनि किफायती हुन सक्छ