१६ कात्तिक, काठमाडौं । नबिल बैंकको एटिएमबाट डाटा चोरी गर्न लागेको अवस्थामा बुल्गेरियन नागरिक भेसिलिन जर्जलेर पक्राउ परेका छन् । चिप रिडर, ल्यापटपलगायत डिभाइससहित उनलाई गत साता प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो । डाटा चोरी गरेर बैंक खाता ह्याक गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए । एटिएममा शंकास्पद गतिविधि गरेको देखेपछि बैंक गार्डले प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए ।
प्रहरीका अनुसार जर्जलेरले एटिएमभित्र ल्यापटपलगायत डिभाइस प्रयोग गरेर डाटा चोर्न खोजेका थिए । तर, डाटा चोरे–नचोरेको खुलिसकेको छैन । उनी एटिएम ह्याक गर्ने अन्तर्राष्ट्रिय गिरोहकै सदस्य भएको हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् । यसअघि पनि अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । एउटै देशका भएकाले उनलाई पनि एउटै गिरोहले पठाएको हुनसक्ने प्रहरी आशंका छ । गत १० चैतमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुल्गेरियाकै नागरिक पेट्रोस्लाभ रिस्टोभलाई पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।
उनको साथबाट १८ लाख नेपाली, ५७ हजार युरो, ४० हजार अमेरिकन डलर र करिब दुई सयवटा कार्ड बरामद भएको थियो । नक्कली एटिएम कार्ड प्रयोग गरेर नेपाली बैंकका एटिएम मेसिनबाट उनले दुई करोडभन्दा धेरै रकम निकालेका थिए । तर, नेपाली नभई विदेशीको खाताबाट उनले पैसा निकालेका थिए । मास्टर कार्ड र भिसा कार्डहरूको डाटा चोरर नक्कली एटिएम कार्ड बनाई उनले पैसा निकाल्दै आएका थिए । उनको गिरोहले पटक–पटक नेपालबाट त्यसरी पैसा निकालेर विदेशमा पठाएको अनुसन्धानमा खुलेको थियो । फेरि बुल्गेरियन नागरिक नै पक्राउ पर्नुले नेपालमा अन्तर्राष्ट्रिय ह्याकरहरू सक्रिय रहेको देखाएको छ । एटिएम तथा बैंकिङ कारोबारको सुरक्षामा चुनौती बढ्दै गएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्ल बताउँछन् । एटिएमबाट पैसा चोर्ने तथा बैंक खाता नै ह्याक गर्नेजस्ता घटनामा विदेशी नागरिक सक्रिय देखिएको र पटक–पटक आफूहरूले पक्राउ गरेर कारबाही पनि गरिएको डिआइजी मल्लले बताए ।
एटिएम ह्याक गर्ने विदेशी नागरिक यसअघि धेरैपटक पक्राउ परिसकेका छन् । उनीहरूले प्राय: एटिएमका डाटा चोरी गरी नक्कली एटिएम कार्डमा ती डाटा राखेर पैसा निकाल्ने गरेका छन् । गत वर्ष मंसिरमा नै टर्किस नागरिक मेहमत गुलेमलाई प्रहरीले नक्कली एटिएम र नक्कली एटिएम प्रयोग गरी निकालिएको २६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनीहरूले पनि नेपालका एटिएम प्रयोग गरी विदेशी बैंकमा खाता रहेका विदेशीकै पैसा चोरी गर्दै आएका थिए । पाकिस्तानी, चिनियाँ तथा नाइजेरियन नागरिकसमेत नेपालमा एटिएम ठगीमा पटक–पटक पक्राउ परिसकेका छन्
No comments:
Post a Comment