Monday, November 16, 2015

बहर सामाग्री

आदरणीय साधकमनहरू,
बहरको सौन्दर्यलाई आत्मसात गर्दै गजलमा साधना गरि रहनु भएका समस्त मनहरूलाई प्रणाम गर्न चाहन्छु ।
मलाई सबै भन्दा धेरै इनबक्समा सोधिने प्रश्नहरू मध्ये एउटा साझा प्रश्न यो हुने गर्छ कि 'सबै बहरहरू उत्तिकै गेयात्मक छन् या कुनै निश्चित बहरहरू मात्र ?' यो प्रश्नसित सम्बन्धित एउटा आलेखको अंश यहाँहरू समक्ष साझा गर्न चाहन्छु ।
****************************************
सङ्गीत उपयोगी बहर
*आवाज शर्मा*
उसो त सबै मान्य अर्कानहरू सङ्गीत मैत्री हुन्छन् । प्रत्येक मिसराहरूमा टपक्क मिल्नजाने समानताको व्यवस्थित नियमसँगै उत्पन्न हुने नादले हरेक अर्कानलाई गेय मैत्री बनाइरहेको हुन्छ । जुन बेबहर हरफहरूमा कहिलै हुँदैन, हुनै सक्दैन, भइहालेछ भने पनि उच्चारणको अशुद्धता पक्कै पनि हुनेछ । शुद्ध उच्चारण गरेर जाँदा नादको नियमिततामा खलबल भइहाल्छ ।
यद्यपि हजारौं बहरहरू सबै ठाउँ र समयमा साङ्गीतिक हिसाबले मैत्रीपूर्ण नहुन सक्छन् । कस्तै ठूला उस्ताद वा सायरहरूले पनि सबै मान्य बहरमा शेर लेख्न सम्भव पनि छैन । यसैले मीठासयुक्त केही बहरहरू छनौट गरेर तिनैमा अभ्यास गर्दा उपलब्धिपूर्ण हुन जान्छ ।
कुनै एक बेला वा परिस्थितिमा लोकप्रिय बनेका सङ्गीत अर्को समयमा त्यत्ति नै लोकप्रिय हुँदैनन् । यद्यपि सङ्गीतको आकर्षण नादको नियमवद्ध प्रवाहसँगै हुने भएकोले केही बहरहरू कहिलै पुराना हुँदैनन् र तिनको सङ्गीतसितको सम्बन्ध पनि सँधै गाढा रहिरहन्छ । कालजयी शेरहरू रचना गर्न चाहने सायरहरूले यो कुरालाई मनन गर्नु वाञ्छनीय हुन्छ ।
त्यस्ता केही कालजयी बहरहरूको चर्चा गरौं ।
१. मुफरद बहरहरू जसमा एउटै सालिम रुक्नको नियमित आवृत्ति हुन्छ ।
• १२२ १२२ १२२ १२२ बहरे मुतकारिब
• २१२ २१२ २१२ २१२ बहरे मुतदारिक
• १२२२ १२२२ १२२२ १२२२ बहरे हजज
• २१२२ २१२२ २१२२ २१२२ बहरे रमल
• २२१२ २२१२ २२१२ २२१२ बहरे रजज
• ११२१२ ११२१२ ११२१२ ११२१२ बहरे कामील
• १२११२ १२११२ १२११२ १२११२ बहरे वाफीर
२. मुरक्कब बहरहरू जसमा एउटै सालिम रुक्नको कमसेकम दुईपटक आवृत्ति हुन्छ ।
• १२२ १२२२ १२२ १२२२ तबील
• २१२२ २१२ २१२२ २१२ मदीद
• २२१२ २१२ २२१२ २१२ बसीत
• १२२२ २१२२ १२२२ २१२२ मुजारे
• २२१२ २१२२ २२१२ २१२२ मुजास
• २२१२ २२२१ २२१२ २२२१ मुन्सरेह
• २२२१ २२१२ २२२१ २२१२ मुक्तजीब
• १२२२ १२२२ २१२२ करीब
• २१२२ १२२२ १२२२ मुशाकील
• २१२२ २१२२ १२२२ कलीब
• २१२२ १२२२ २१२२ असम
• १२२२ २१२२ २१२२ सरीँम
• २१२२ २१२२ २२१२ जदीद
• २१२२ २२१२ २१२२ खफीफ
• २२१२ २१२२ २२१२ सगीर
• २१२२ २२१२ २२१२ हमीम
• २२१२ २२१२ २२२१ सरीअ
• २२२१ २२१२ २२१२ सलीम
• २२२१ २२२१ २२१२ कबीर
• २२२१ २२१२ २२२१ हमीद
३. जिहाफकै रूपमा भएपनि एउटै रुक्नको निरन्तर आवृत्ति भएका अर्कानहरू पनि सङ्गीत मैत्री हुन्छन् ।
जस्तैः
• ११२ ११२ ११२ ११२ बहरे मुतकारिब मुहबक (मुतकारिब १२२ मुहबक ११२)
• १२१ १२१ १२१ १२१ बहरे मुतकारिब मक्बूज (मुतकारिब १२२ मक्बूज १२१)
• १२१२ १२१२/ १२१२ १२१२ बहरे हजज मक्बूज (हजज १२२२ मक्बूज १२१२)
• २११२ २११२/ २११२ २११२ बहरे रजज मुतब्बी (रजज २२१२ मुतब्बी २११२)
• ११२२ ११२२/ ११२२ ११२२ बहरे हजज मुहबक/रमल मुतब्बी (हजज १२२२, मुहबक ११२२ वा रमल २१२२ मुतब्बी ११२२), आदि । यस्ता बहर धेरै थरि बन्न सक्छन् ।
४. दुईथरि रुक्नको सन्तुलित आवृत्तिमा पनि सङ्गीत मैत्रीपन ज्यादा हुन्छ ।
जस्तैः
• १२२१२ १२२१२/ १२२१२ १२२१२
• बहरे मुतदारिक मुखल्ला (मुतदारिक १२२, मुखल्ला १२)
• १२१२२ १२१२२/ १२१२२ १२१२२
• बहरे मुतकारिब मक्बूज असलम (मुतकारिब १२२, मक्बूज १२१, असलम २२)
• २२१२२ २२१२२/ २२१२२ २२१२२
• बहरे मुतकारिब असलम (मुतकारिब १२२, असलम २२)
• २१२२२ २१२२२/ २१२२२ २१२२२
• बहरे मुतदारिक मक्तूअ क (मुतदारिक २१२, मक्तूअ २२)
• २२२१२ २२२१२/ २२२१२ २२२१२
• बहरे मुतदारिक मक्तुअ ख (मुतदारिक २१२, मक्तूअ २२)
• २२१ २१२२/ २२१ २१२२
• मुजारे अखरब (मुजारे १२२२ २१२२, अखरब १२२२ बाट २२१)
• १२१२ १२२२/ १२१२ १२२२
• हजज मक्बूज क (हजज १२२२, मक्बूज १२१२)
• १२२२ १२१२/ १२२२ १२१२
• हजज मक्बूज ख (हजज १२२२ मक्बूज १२१२)
• २२१२ १२१२/ २२१२ १२१२
• रजज मख्बून क (रजज २२१२, मख्बून १२१२)
• १२१२ २२१२/ १२१२ २२१२
• रजज मख्बून ख (रजज २२१२, मख्बून १२१२) आदि। यस्ता बहरहरू पनि धेरै बन्न सक्छन् ।
५. मुफरद वा मुरक्कब अर्कानका अरुजो जरब (अन्तिम)का रुक्नहरूमा लाग्ने मान्य जिहाफहरू पनि सङ्गीतमैत्री हुन्छन् ।
जस्तैः
• १२२ १२२ १२२ १२ (मुतकारिब महजूफ)
• १२२ १२२ १२२ २२ (मुतकारिब असलम)
• १२२२ १२२२ १२२२ १२२ (हजज महजूफ)
• १२२२ १२२२ १२२२ २ (हजज अशरम)
• २१२ २१२ २१२ २२ (मुतदारिक मक्तूअ)
• २१२ २१२ २१२ १२ (मुतदारिक मुखल्ला)
• २१२२ २१२२ २१२२ २१२ (रमल मुश्ईस)
• २२१२ २२१२ २२१२ २२ (रजज महजूज)
• १२२२ २१२२ १२२२ २१२ (मुजारे मुश्ईस)
• २२१२ २१२२ २२१२ २१२ (मुजास मुश्ईश) आदि । यस्ता उदाहरण त झन सयौं बन्न सक्छन् ।
यी माथिका उदाहरणहरू त केबल मुसम्मन (चार रुक्नको समूह) अर्कानका केहि उदाहरणहरू हुन् । यस्ता हजारौं सङ्गीतमैत्री अर्कानहरू बनाउन सकिन्छ । साङ्गीतिक प्रयोजनकै लागि गजल लेख्न चाहने साधकहरूले रुक्नको विभिन्न सङ्ख्याका आवृत्तिको समूह बनाएर अभ्यास गर्न सकिन्छ । याद गर्नु पर्ने कुरा के छ भने १२ अक्षर भन्दा बढीका अर्कानमा मध्य विश्राम अपेक्षित हुन्छ यद्यपि यो अनिवार्य तत्व अन्तरगत भने पर्दैन ।
अन्त्यमा,
माथिका सबै अर्कानमा सबैले लेख्न सक्नुपर्छ भन्ने छैन । यी मध्ये फरक फरक प्रकृतिका आठ दशोटा अर्कान टिप्नुहोस् । हजुरको रोजाई यी माथिका अर्कान भन्दा पृथक छ भने माथि जानकारीमा बताइए अनुसार अर्को अर्को अर्कानको संरचना आफै निर्माण गर्नुहोस् । अनि मन खोलेर लेख्नुहोस् ।
दुश्यन्त कुमारले आठओटा बहरमा आफ्ना सबै सिर्जना पस्केका छन्, गालिब पनि एक दर्जन बहर भित्रै समेटिएका छन् । दमदार सिर्जना पस्किन सकियो भने दुई चारोटै बहर पनि पर्याप्त हुन सक्छन् ।
आशा गर्छु, यति धेरै अभ्यास गर्नको निम्ति उदाहरण अर्कानहरू उपलब्ध भइरहेको अवस्थामा हाम्रा साधनाहरूले अब सही बाटो पक्डने छन् । म सर्जकको खाँचो अनुसार तरन्नुमको श्रव्य सामग्री पनि उपलब्ध गराउने कोशिश गर्ने छु ।

No comments:

Post a Comment